प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद् विघटनको सिफारिस गरेपछि विकसित राजनीतिक घटनाक्रमले कोरोनाविरुद्धको खोप आयात तथा वितरणमा असर पुग्ने देखिएको छ । त्यसले खोप आउने र कोरोना संक्रमण नियन्त्रण गर्न सजिलो पर्ने आशामा तुषारोपात गरेको छ ।

आइतबार संसद विघटन भएलगत्तै देशका विभिन्न भागमा प्रर्दशन तथा सभा सम्मेलन भइरहेका छन् । यस क्रममा जनस्वास्थ्यका मापदण्ड पालनामा नगर्दा महामारी तिव्ररुपमा फैलने जनस्वास्थ्यविज्ञहरुले बताउन थालेका छन् ।

नेपालको वर्तमान राजनीतिक घटनाक्रमले राजनीतिक क्षेत्रलाई मात्र हैन, सिंगो राष्ट्रलाई प्रभावित बनाएको र त्यसको प्रभाव स्वास्थ्य क्षेत्रमा पनि पर्ने निश्चित रहेको जनस्वास्थ्यविद् बाबुराम मरासिनी बताउँछन् । कोरोना महामारीले प्रत्येक व्यक्ति प्रत्येक्ष रुपमा प्रभावित भइरहेको छन् । यस्तो स्थितिमा नेपाल सरकारले कोरोनाविरुद्धको खोप नेपालमा आयात गर्नका लागि पूर्वतयारी गरिरहेको छ । तर अहिले विकसित राजनीतिक घटनाक्रमले खोप आयात प्रक्रियालाई असर गर्ने आशंका डा. मरासिनीले जनाएका छन् । उनका अनुसार, सरकारले कोरोनाविरुद्धको खोप आयात गर्ने प्रक्रियागत्त पाटोमा छौं भन्दै आएको त छ तर हालसम्म खोप आयातको लागि अग्रिम बुकिङ गरेको छैन ।

खोप निर्माण गर्ने कम्पनीसँग पहिला अग्रिम बुकिङ गर्नेले मात्रै पहिला कोरोनाविरुद्धको खोप पाउने उनको भनाइ छ । उनी भन्छन्, ‘खोप निर्माण गर्ने कम्पनीसँग धनी राष्ट्रहरुले अग्रिम भुक्तानी गरेर बसिकेको छन् । जसले अग्रिम भुक्तानी गरे उनीहरुले पहिला खोप प्राप्त गर्ने छन् ।’ अमेरिकामा खोप निर्माण भए पनि अग्रिम बुकिङ गरेकाले अमेरिका भन्दा पहिला बेलायतका जनताले कोरोनाविरुद्धको खोप लगाउन पाएको दृष्टान्त उनी दिन्छन् ।

अहिलेको घटनाक्रमले खोपको आयतका सवालमा अन्तराष्ट्रिय दाताहरुको सहयोगमा पनि असर पर्न सक्ने उनको अनुमान छ । ‘खोप आयात र व्यवस्थापन कार्यान्वयनको पाटोमा अहिलेको घटनाक्रमले असर गर्न सक्छ । धेरैको ध्यान अब राजनीतिक घटनाक्रममा केन्द्रीत हुने भएकोले कोरोना महामारी नियन्त्रण र व्यवस्थापनमा समेत असर पर्ने जनाउँदै डा. मरासिनी भन्छन्, ‘नेपालमा विकसित भएको राजनीतिक घट्नाक्रमले २०२१ सम्ममा पनि कोरोनाविरुद्धको खोप आउन गाह्रो हुन देखिन्छ ।’ ‘नेपालमा विश्व स्वास्थ्य संगठन र गाभीमार्फत खोप आउने’ जनाउँदै डा. मरासिनी ‘अरु खोप ल्याउनका लागि नेपाल सरकारले लविङ गर्न नसकोको’ बताउँछन् । विश्व स्वास्थ्य संगठनको मुख्यालयमा कसको कति प्रभाव छ र कसले कति लविङ गर्न सक्छ भन्ने कुराले पनि खोप ल्याउने कुरामा प्रभाव पर्ने उनको भनाइ छ ।

‘राष्ट्रिय राजनीतिमा हलचल हुँदा कोरोनाविरुद्धको खोप आयतमा लागि धक्का लाग्ने’ जनस्वास्थ्यविद् रविन्द्र पाण्डे बताउँछन् । ‘अहिले विश्वका गरिब मुलुकहरुलाई खोप उपलब्ध गराउने तयारीमा लागिरहेको कोभ्याक्सलाई सरकारले ‘डिप्लोमेटिक नोट’ पठाउनुबोहक थप खासै पहल नगरेको अवस्थामा विकसित पछिल्लो घटनाक्रमले खोप आउने सम्भावनालाई झनै पर धकेलिदिएको’ उनको भनाइ छ ।

‘कोभ्याक्सले पनि उपलब्ध गराउने जम्मा २० प्रतिशत खोपमध्ये पहिलो चरणमा ३ प्रतिशत मात्रै खोप उपलब्ध गराउने र बाँकी १७ प्रतिशत खोप आउन एक डेढ वर्ष लाग्न सक्ने’ उनको कथन छ । यो स्थितिबीच ‘विकसित पछिल्लो राजनीतिक घटनाक्रमले खोप ल्याउने–आउने सम्भावनालाई झनै पर धकेल्ने स्थिति पैदा भएकोले स्थायी सरकार भनिने कर्मचारीतन्त्रले विशेष पहल गर्नुपर्ने’ आवश्यकता डा. पाण्डे औंल्याउँछन् ।

कोरोनाविरुद्धको खोप आयातका लागिको पूर्व तयारीहरु विभागस्तरबाट निरन्तर चलिरहने बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक तथा खोप अध्ययन र सुझाव समितिका संयोजक श्यामराज उप्रेतीले बताउँछन् । नेपाली राजनीतिक वृत्तमा तरङ्ग आउँदा कोरोना महामारी नियन्त्रण तथा खोप आयातमा धेरैथोरै असर पुग्न सक्ने उनी बताउँछन् । ‘खोप आयातका लागि केही कुरा माथिल्लो तहबाट नेतृत्व गर्नुपर्ने हुनसक्छ,’ उनले भने, ‘जनतासँग गरिएका बाचा पुरा गर्नका लागि नेतृत्व परिर्वतन भएमा केही न केही असर त पुग्छ नै ।’

महामारी नियन्त्रण तथा खोप आयातका लागि कुनैबेला विभिन्न पार्टीहरुको सहयोग लिनुपर्ने अवस्था आउन सक्ने भएकाले राजनीतिक बद्लाब आउँदा कोभिड नियन्त्रणमा समस्या सृजना हुन सक्ने उनको भनाइ छ । यो स्थितिबीचमा पनि कोरोनाविरुद्धको खोप आयत गर्नका लागि गरिने पूर्व तयारी मन्त्रालय र विभागबाट भइरहेको उनको जिकीर छ ।

वर्तमान राजनीतिक परिघटनालाई लिएर देशभर भइरहेका प्रदर्शन, सभा, भीड, जुलुसमा सहगाभी हुँदा सामाजिक दूरी कायम नगरिएको भन्दै जनस्वास्थ्यविज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । वर्तमान समयमा राजनीतिक घटनाक्रमले कोरोना महामारी तिव्ररुपमा फैलन उनीहरुको भनाइ छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा बदलिएको राजनीतिक घटनाक्रमले स्वास्थ्यका कार्यक्रममा केही असर नपुर्याउने दावी गरेको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS