आफ्नै सुन्दर र बलियो घर होस् भन्ने चाहना हरेक मानिसको हुन्छ । आफ्नो यही सपना पूरा गर्नका लागि मान्छेले जीवनभर संघर्ष गरिरहेको हुन्छ । वर्षौंको मेहनत, संघर्ष र लगनशीलता पश्चात् बनाइएको घरमा बसाइको आनन्द पनि अतुलनीय हुनुपर्छ । आफ्नो घरको बसाइलाई सुखानुभूति दिलाउने गरी जीवन्त बनाउन साजसज्जामा पनि उत्तिकै ध्यान दिनुपर्ने इन्टेरियर डिजाइनरहरू बताउँछन् ।

जीवनमा एक पटक बनाइने घर बलियो, सुन्दर र सुखानुभूति दिलाउने हुनुपर्छ । घर बनाउँदा प्रयोग गरिएको काठ र फर्निचरले पनि घरको सुन्दरता बढाउँछ । घर बनाउँदा नभई नहुने काठ झ्याल–ढोका, किचन र्‍याकदेखि साजसज्जामा प्रयोग गरिन्छ । आकर्षक फर्निसिङले मात्र घरलाई जीवन्त बनाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

घर बनाउँदा कसरी किफायती र गुणस्तरीय काठ छान्ने त ? काठ किन्दा आफू ठगिएको छ कि छैन भनेर कसरी यकिन गर्ने ? कमसल काठ र असल गुणस्तरको काठ छुट्याउने मापदण्ड के–के हुन् ? घरको कुन ठाउँमा कस्तो काठ प्रयोग गर्दा खर्च पनि कम हुन्छ ? फर्निचरका लागि कस्तो काठ प्रयोग गर्नुपर्छ ? विदेशबाट आयात गरिएको काठ र तयारी फर्निचर कत्तिको मजबुत र आकर्षक हुन्छन् ?

यस्ता प्रश्नबाट चिन्तित हुनुहुन्छ भने हामीले दिएका उपाय र सुझाव पालना गर्नुहोस् जसले गर्दा तपाईंलाई उचित ठाउँमा उचित काठ छनौट गर्न सहयोग पुग्नेछ ।

काठको प्रकार र मूल्य अन्तर

अहिले नेपाली बजारमा स्वदेशी र विदेशी काठ उपलब्ध छ । छिमेकी मुलुक चीन र इन्डियादेखि इन्डोनेसिया, मलेसियालगायतबाटविभिन्न प्रकारको काठ र तयारी फर्निचर भित्रिरहेका छन् ।

भन्सार विभागको तथ्यांकअनुसार नेपालमा वार्षिक आठ अर्ब रुपैयाँभन्दा बढी मूल्यको काठ र तयारी फर्निचर विभिन्न मुलुकबाट भित्रिने गरेको देखिन्छ ।

जीवनमा एक पटक बनाइने घर बलियो र सुन्दर दुवै हुनुपर्छ । घर बनाउँदा प्रयोग गरिएको काठ र फर्निचरले घरको सुन्दरता बढाउँछ ।

अहिले बजारमा विभिन्न मूल्य र गुणस्तरका काठ, तयारी फर्निचर रोजीरोजी खरिद गर्न पाउने विकल्प उपलब्ध छ । उपभोक्ताले आफ्नो आर्थिक अवस्थाअनुसार घरमा काठ र तयारी फर्निचर खरिद गर्न सक्छन् ।

करिब तीन दशकदेखि फर्निचर व्यवसाय गर्दै आइरहेका दया मैनाली भन्छन्, ‘घरको ठाउँअनुसार उपयुक्त काठ र फर्निचरहरु छनौट गर्न सकेमा महँगो खर्चबाट जोगिन सकिन्छ ।’

अहिले बजारमा स्वदेशी जंगलको साज, अग्राख (साल), टिक, सिसौ, सल्लो, उत्तिस, ओखर, पैयूँ, कटुसलगायत रूखको काठउपलब्ध हुन्छन् । विदेशबाट पनि अग्राखको काठ भित्रिरहेको छ तर यो हाइब्रिड अग्राख हो ।

मैनालीका अनुसार यदि घरमा नेपालकै काठ ‘साज’ प्रयोग गर्ने हो भने प्रतिक्युबिक फिट ३५ सय रुपैयाँ पर्न आउँछ । यस्तै, विदेशबाट आयात गरिएको अग्राख क्युबिक फिटकै ४५ सय रुपैयाँ पर्छ भने नेपाली अग्राखको मूल्य प्रतिक्युबिक फिटको ६ हजार रुपैयाँ पर्छ ।

विदेशी अग्राख र नेपाली अग्राखको मूल्य प्रतिक्युबिक फिटमै १५ सय रुपैयाँ हाराहारी फरक पर्न आउँछ ।

नेपालमा उपलब्ध अग्राखभन्दा पनि महँगो टिकको काठ हो । बजारमा टिकको मूल्य प्रतिक्युबिक फिट ७५ सय रुपैयाँ पर्छ । अहिले देशभित्र विभिन्न ठाउँमा खाली जमिन सदुपयोग गरेर टिक काठको व्यावसायिक उत्पादन पनि भइरहेको छ ।

घरमा सबैभन्दा बढी प्रयोग गरिने काठमा सल्लो पनि पर्छ । मैनाली भन्छन्, ‘धनगढीबाट आउने सल्लो प्रयोग गर्दा प्रतिक्युबिक फिट दुई हजार र लोकल पहाडी सल्लोको प्रतिक्युबिक फिट १५ सय रुपैयाँ हाराहारी खर्च लाग्छ ।’

नेपाली बजारमा सिसौको काठ पनि विभिन्न गुणस्तरमा पाइन्छ । ‘सिसौ काठप्रयोग गर्दा प्रतिक्युबिक फिट २५ सयदेखि ७ हजार रुपैयाँसम्म खर्च लाग्छ,’ मैनाली भन्छन्, ‘लोकल सिसौको काठ प्रतिक्युबिक फिटको २५ सय रुपैयाँ, स्पेशल सिसौको ४५ सय र जंगली सिसौको सात हजार रुपैयाँसम्म पर्छ ।’

तुलनात्मक रूपमा सस्तो पर्ने उत्तिसको काठ पनि फर्निचर बनाउन प्रयोग भइरहेको छ । उत्तिस कोठा फर्निसिङमा पनि प्रयोग हुन्छ । उत्तिसको काठ प्रयोग गर्दा प्रतिक्यिुबिक फिट एकहजार रुपैयाँ हाराहारी पर्न आउने मैनाली बताउँछन् ।

पछिल्लो समय फर्निचर बनाउन र फर्निसिङमा प्लाईउडबढी प्रयोग हुन थालेको छ । प्लाईउड पनि तीन प्रकारको हुन्छ, ‘ए’, ‘बी’ र ‘सी’ । प्लाइउड प्रयोग गर्दा प्रतिस्क्वायर फिटको १५ सयदेखि २५ सय रुपैयाँसम्म पर्छ ।

सपनाको घर डटकमका चिफ अफ अपरेसन (सीओओ) सुशीलकुमार कार्कीका भन्छन्, ‘पछिल्लो समय झ्याल–ढोकाको चौकसमा मात्रै काठको प्रयोग हुन थालेको छ । वुड एन्ड प्रेस्ट (भुसलाई खाँदेर कम्प्याक्ट गरी बनाइएको) लेमिनेटेड ढोका प्रयोग भइरहेको छ । झ्याल यूपीभीसी प्रयोग हुन्छ । पार्केटिङका लागि मलेसियन र चाइनिज लेमिनेटेड सामग्री प्रयोग गरिन्छ यो काठजस्तै हो, अर्जिनल काठ होइन ।’

मैनालीका अनुसार झ्याल, ढोका, पार्केटिङ, किचन, दराज, पलङलगायत फर्निसिङमा स्वदेशीभन्दा विदेशी रेडिमेडकाठको प्रयोग बढी भइरहेको छ । विदेशबाट सस्तो मूल्यमा आकर्षक फिनिसिङ गरिएका रेडिमेड फर्निचर आइरहेका छन् ।

‘अहिले बजार विदेशी काठले खाइरहेको छ,’ मैनाली भन्छन्, ‘विदेशबाट रेडिमेड ल्याइएको काठको फिनिसिङ पनि राम्रो हुन्छ, चर्केको र फुटेको पनि हुँदैन, बांगिने सम्भावना पनि हुँदैन । देख्दा राम्रो सर्लक्क परेको र किन्दा पनि सस्तो पर्न जान्छ ।’

‘नेपाली काठ विदेशबाट आयात गरिएको भन्दा धेरै बलियो भएपनि फिनिसिङ त्यति राम्रो हुँदैन,’ मैनाली थप्छन्,‘अर्जिनल काठ चर्किन र बाँगिन पनि सक्छ । फेरि मूल्य पनि चर्को पर्छ ।’

उनका अनुसार रूख कटानमा गरिएको कडाईले घरमा फर्निचर र फर्निसिङका लागि राम्रो काठको प्रयोग धेरै महँगो बन्दै गइरहेको छ ।

कुन ठाउँमा कस्तो काठ प्रयोग गर्ने ?

झ्याल–ढोकाको चौकसमा प्रायः अग्राख प्रयोग गरिन्छ । अलिकति कम बजेट हुनेले साज पनि प्रयोग गर्न सक्छन् तर यो काठ चाँडै बिग्रिन सक्छ । अलि महँगो काठ प्रयोग गर्न खोज्नेले टिक पनि प्रयोग गर्छन् । झ्याल–ढोकामा स्वदेशी र विदेशी दुवै अग्राख प्रयोग गर्न सकिन्छ । विदेशी अग्राख प्रयोग गर्दा प्रतिक्युबिक फिट झन्डै १५ सय रुपैयाँ सस्तो पर्न आउँछ । सपनाको घर डटकमका सीओओ कार्कीका अनुसार झ्याल ढोकाको चौकसमा अग्राख, टिक, सिसौलगायत काठ प्रयोग गरिँदै आइरहेको छ ।

झ्याल–ढोकाका खापामा सकभर अग्राठ नै प्रयोग गर्दा राम्रो हुन्छ । तर, घामपानी नपर्ने भित्रपट्टिका झ्याल–ढोकाको चौकस र खापामा सल्लो, सिसौ वा साज पनि प्रयोग गर्न सकिन्छ । यसो गर्दा खर्च घटाउन सकिन्छ ।

अहिले बन्ने घरहरु पिलर र बिमसहितका हुने हुनाले काठले भार थाम्नु पर्दैन । प्रयोग गरेको काठ कमजोर भएकै कारण घर बलियो नहुने भन्ने हुँदैन । घाम पानीले नबिग्रिने ठाउँमा महँगो अग्राख, टिक वा जंगली सिसौ प्रयोग गर्नुभन्दा विदेशी अग्राख, साज, सल्लो वा नर्मल सिसौ प्रयोग गर्न सकिने मैनाली बताउँछन् ।

‘अचेल भित्रपट्टि रेडिमेड लेमिनेटेड ढोका राख्ने चलन बढेको छ,’ उनी भन्छन्, ‘आयातीत लेमिनेटेड ढोका पाँच हजारमा रुपैयाँमै पाइन्छन् । यदि तपाईंले सस्तो काठ प्रयोग गरेर ढोका बनाउँदा पनि एउटै ढोकालाई १० हजार रुपैयाँभन्दा बढी पर्न आउँछ । बाहिरी झ्यालमा अग्राख, सिसौको काठ प्रयोग गर्दा चाँडै बिग्रिन पाउँदैन । तर, पछिल्लो समय झ्यालमा यूपीभीसी प्रयोग हुन थालेको छ । प्लाईउडको झ्याल–ढोका पनि सस्तो मूल्यमै पाइन्छ ।’

घरभित्र पार्केटिङका लागि अलिसस्तो काठ प्रयोग गर्दा हुन्छ । कम मूल्य पर्ने सिसौ, सल्लो, साज, उत्तिसलगायत काठले पार्केटिङ गर्दा पनि हुन्छ । यदि महँगो मूल्य तिर्न तयार भएमा टिक र जंगली सिसौ पनि प्रयोग गर्न सकिन्छ । वा, अझ सस्तो खोज्ने हो भने विदेशबाट आयात गरिएको लेमिनेटेड पार्केटिङ मेट्रियल्स प्रयोग गर्न सकिन्छ ।

रेलिङका लागि सिसौको काठ चाहिन्छ । रेलिङमा काठलाई घुमाउन र स–सानो टुक्रा जडान गर्नुपर्ने हुनाले अग्राठ फुट्ने र चर्किने डर हुन्छ । सिसौको काठ चाम्रो हुने हुनाले रेलिङमा प्रायः सिसौ नै प्रयोग गरिन्छ ।

किचनको फर्निसिङका लागि सल्लो, सिसौ र साज प्रयोग गर्न सकिन्छ । पानी पोखिने ठाउँमा नेपाली अग्राख प्रयोग गरिन्छ । तर, पछिल्लो समय किचनको फर्निसिङका लागि पनि प्लाईउड प्रयोग गर्ने चलन बढेको छ । प्लाईउडले किचन फर्निसिङ गर्दा धेरै सस्तो पर्छ । मैनालीका अनुसार प्रतिस्क्वायर फिटको खर्च बढीमा दुई हजार रुपैयाँ हाराहारी पर्छ । ‘राम्रो त काठकै प्रयोग हुन्छ, तर महँगो पर्ने हुनाले प्लाईउड राख्न थालिएको हो,’ उनी भन्छन्, ‘प्लाईउड पनि बलियो हुन्छ र त्यसको फिनिसिङ राम्रो देखिन्छ ।’

दराज, पलङ, ¥याक, टेवल, कुर्चीलगायत बनाउन सल्लो, सिसौ, साज, उत्तिसलगायत काठ प्रयोग गर्दा सस्तो पर्न आउँछ । अहिले बजारमा रेडिमेड फर्निचर पाइन्छन् ती फर्निचरमा यिनै काठ प्रयोग हुन्छ । अझ बढी प्लाईउड प्रयोग हुन थालेको छ । जंगली सिसौ, अग्राख, टिकजस्ता महँगा काठ प्रयोग गर्दा फर्निचर महँगो पर्न जान्छ । प्लाईउड प्रयोग गर्दा फर्निचरमा फिनिसिङ पनि राम्रो आउने मैनाली सुनाउँछन् ।

‘काठको फर्निचर बनाउँदा बलियो हुन्छ तर मूल्य अचाक्ली महँगो हुनाले काठको प्रयोग बिस्तारै कम हुँदै गइरहेको छ,’ उनी भन्छन् ।

अग्राख नै किन ?

अग्राख भनेको एक नम्बर काठ हो । यो काठ निकै बलियो हुन्छ । भनिन्छ, यो रूख बढ्न एक सय वर्ष लाग्छ र सय वर्षसम्म पानीमा राखे पनि कुँहिदैन । छिप्पिएको अग्राखको गाब फलाम, स्टिलभन्दा पनि धेरै बलियो हुन्छ । अग्राख जति पुरानो उति राम्रो हुन्छ । अग्राखको विकल्प भनेको जंगली सिसौ र टिक हो जुन काठ अग्राखभन्दा महँगो पर्छ ।

सामान्यतया बलियो काठ छनौट गर्नका लागि तीनवटा मापदण्ड सदैव मनन गर्नुपर्ने हुन्छ ।

काठको घनत्वः काठको शक्ति र तौलले यसको घनत्वको बारेमा संकेत गर्छ । बाक्लो काठ जहिले पनि फर्निचर वा भवनको लागि उत्तम हुने गर्छ । त्यस्तै, कम बाक्लो काठ कागज बनाउन र अन्य काठका परियोजना निर्माणका लागि प्रयोग गर्न सकिन्छ।

काठको बनावटः काठको बनावटले यसको सतह र स्थिरताको अवस्थाबारे निर्धारण गर्छ। यसले काठको अन्तिम रूप कस्तो हुनेछ भन्ने कुराको निर्णय दिन महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

काठको रङः रङले जहिले पनि काठको आकर्षण वृद्धि गर्न योगदान पुर्‍याउँछ । जस्तो कि, अग्राठको काठभन्दा सल्लाको काठको रङ बढी आकर्षक र सुन्दर देखिन्छ ।

काठको स्थायित्व, शक्ति र स्थिरताको ज्ञान भएमा घर बनाउँदा कुन प्रकारको काठ खरिद गर्ने भनेर व्यक्तिगत निर्णय गर्न सकिन्छ । उच्चर कम गुणस्तरको काठ छुट्याउने केही प्रमुख मापक छन् । जुन काठको स्थायित्व हुँदैन र संकुचित हुन्छ या भनौँ खुम्चिन्छ त्यसलाई कम गुणस्तरको मानिन्छ भने अर्कोतर्फ राम्रो घनत्व भएको, स्थायित्व र स्थिरता भएकोलाई उच्च गुणस्तरको काठ मानिन्छ।

उत्कृष्ट गुणको काठ (जुन फर्निचरको सुन्दर टुक्रा बनाउन वा बुट्टा कोर्न प्रयोग गरिन्छ) वर्षौंसम्म टिकिरहन्छ । त्यसैले पनिबलियो काठछनौट गर्नुपर्छ । उच्च गुणस्तरको काठको चयन गर्ने सूचक के हुन् त? राम्रो गुणस्तरको काठ छनौटको मापदण्डमा जहिले पनि गुण र निर्माण (बनावट) बीचका भिन्नता थाहा हुन जरुरी छ।

गुणः गुणस्तरीय फर्निचर सामान्यतया बाक्लो र दरो काठबाट बनाइन्छ। जुन कटुस, सागौन, पैंयु, ओखर, सिसौलगायत रूखबाट प्राप्त हुन्छ । गुणस्तरीय काठको खोजी गर्दा काठको किसिम विचार गरी यो लामो अवधिसम्म टिकाउ हुने/नहुने बुझ्नु आवश्यक छ।

निर्माणः फर्निचरको निर्माणले काठको टुक्रा कति लामो समयसम्म रहन्छ भन्ने कुराको निर्णय गर्न मुख्य भूमिका खेल्छ । काठ जोडिएको भाग र सो भागको टिकाउपनले काठको गुणस्तरबारे धेरै कुरा प्रष्ट पार्छ । गुणस्तरीय काठबाट बनाएका फर्निचरले स्थायित्व र विश्वसनीयता प्रदान गर्छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS