संसद विघटनको निर्णयले फेरि तातिन थाल्यो सडक आन्दोलन

काठमाडौं । २०७४ को संसदीय निर्वाचनपछि झण्डै तीन वर्षसम्म फाट्टफुट्ट बाहेक शान्त बनेको सडक पुनः अशान्त बन्न पुगेको छ । शान्त सडक अशान्त बनाउने काम अरु कसैले नगरेर झण्डै दुई तिहाइ बहुमत प्राप्त सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरेका हुन् । पार्टीभित्रको आन्तरिक किचलो मिलाउन नसकेको झोंकमा प्रधानमन्त्री ओलीले जनप्रतिनिधिको सर्वोच्च निकाय प्रतिनिधि सभाको ‘हत्या’ गरेपछि त्यसयता सडकमा दैनिकजसो प्रदर्शन हुन थालेको हो भने अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको राजनीतिप्रति चासो बढ्न पुगेको छ ।

विगत एक सातायता राजधानी काठमाडौँसहित देशका प्रमुख शहरका सडकमा मसाल जुलुस, विरोध प्रदर्शन, पुत्ला दहन जस्ता गतिविधिले प्रश्रय पाउन थालेका छन् । यो क्रम अझै बढ्ने संकेतहरु देखिँदै गएका छन् ।

पछिल्लो समय सडकमा भएका गतिविधिले २०६२/०६३ ताकाको आन्दोलनको झ–झल्को आउन थालेको महसुस नेपाली जनताले गर्न थालेका छन् । फरक यति हो २०६२–०६३ मा राजाविरुद्ध आन्दोलन केन्द्रीत हुन्थ्यो भने अहिले त्यही राजाविरुद्ध आन्दोलन गरेका दलहरुबाट प्रधानमन्त्री भएका केपी ओलीका विरुद्ध भइरहेको छ ।

ओलीले आफ्नो सत्ता टिकाउन संसद भंग गरेको आरोप लागेको छ ।  ओलीको यो असंवैधानिक र ‘प्रतिगामी’ कदमको सर्वत्र विरोध भइरहेको छ । त्यसैको विरोधमा दिनहूँ प्रदर्शनहरु हुन थाल्दा सडक कोरोनाको कहरका बीच तातिएको हो ।

नागरिक समाजदेखि बुद्धिजिवीसम्मको विरोध

ओली कदमको विरोधमा एकाधबाहेक सवै राजनीतिक दलहरु सडकमा ओर्लिसकेका छन् । नागरिक समाजदेखि विभिन्न व्यवसाय र पेशाकर्मीहरु पनि सडकमा आउने तयारीमा छन् ।

प्रमुख राजनीतिक दलहरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षदेखि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, जनमोर्चा, राप्रपा लगायतका दल र उनीहरुका भ्रातृ संगठनहरुले ओली कदमको विरोधमा आन्दोलन र प्रदर्शन गरिरहेका छन् ।

नागरिक समाजका अगुवाहरुले प्रतिगामी कदमको सडकमै शंख फुकेर विरोध गरेका छन् भने विभिन्न पेशाकर्मीहरु विरोधका कार्यक्रम तय गरेर चाँडै सडकमा आउने तयारीमा छन् ।

पाँच पूर्वप्रधानमन्त्री सडकमा !

संसद भंग गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट परिसकेको छ । उक्त रिटको सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई जारी रहेको छ । गत शुक्रबारबाट उक्त रिटको संवैधानिक इजलासमा सुनुवाई सुरु भएको हो । सोही दिन नेकपाको बहुमत पक्ष अर्थात प्रचण्ड–माधव पक्षले सडक आन्दोलनका कार्यक्रम औपचारिक रुपमा सुरु गरेको थियो । सोही दिन नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीत्रय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ सडकमा आएर आन्दोलनको सुरुवात गरिसकेका छन् । उनीहरुले ओलीको उक्त कदम नसच्चिएसम्म आन्दोलन नरोकिने संकेत गरिसकेका छन् । त्यस्तै अर्का पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टराई पनि आइतबारबाट सडक आन्दोलनमा सरिक भएका छन् । भट्टराई नेतृत्वको जसपाले आइतबार काठमाडौमा गरेको विरोध प्रदर्शनमा उल्लेख्य जनसहभागिता रहेको थियो ।

त्यसैगरी प्रमुख प्रतिपक्ष दल काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि ओली कदमको विरोधमा संघर्षका कार्यक्रम सार्वजनिक गरिसकेका छन् ।

शनिबार सभापति देउवाले पार्टीका निर्णयअनुसार देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सोमबारका लागि प्रदर्शन गर्न आह्वान गरेका हुन् ।

उनले संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरितको कार्यविरुद्ध काँग्रेस सम्पूर्णरुपले एकमतका साथ उभिएकोसमेत प्रष्टयाएका छन् । प्रचण्ड, नेपाल, खनाल, भट्राई र देउवा चारै जना पूर्वप्रधानमन्त्री यसरी सडकमा आएपनि ओलीले भने आफ्नो कदम सच्याउनुको साटो थप कडा कदम चाल्ने चेतावनी दिँदै आएका छन् । सडकमा भएको विरोध र जनचाहाना विपरित बरु ओली ज्ञानेन्द्र शैलीमा मन्त्रिमण्डल विस्तार गर्दै जनताले नपत्याएकाहरुलाई समेत समेटेर आफ्नो इरादा पुरा गर्ने प्रयासमा लागेको कतिपयले टिप्पणी गर्न थालेका छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS