काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालततिर फर्केर दबाबको भाषा नबोल्न आग्रह गरेका छन्। संसद् विघटनविरुद्ध काँग्रेस मध्यपुरथिमी नगर कार्यसमितिको विरोधसभामा शर्माले ओलीले न्यायाधीशलाई पार्टीको पोलिटव्यूरो सदस्य नठान्न चेतावनी दिए ।
‘संसद् विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी छ। त्यसैले प्रधानमन्त्रीजी सर्वोच्च अदालततर्फ फर्केर दबाबको भाषा नबोल्नुस्,’ उनले भने, ‘न्यायाधीश तपाईको पार्टीको पोलिटव्यूरो सदस्य होइनन्। तपाईको आदेश मान्ने राष्ट्रपति जस्तो पनि होइनन्। उहाँहरुले संविधान बुझ्नुभएको छ। तपाईंको भाषणको स्कृप्ट पढेर होइन। संविधान हेरेर फैसला गर्नुहुन्छ।’

उनले सर्वोच्च अदालतको फैसला स्वीकार्न काँग्रेस तयार भएको बताए। तर आफ्ना कदमका विषयमा प्रधानमन्त्रीले जुहारी खेल्ने नहुने उनको भनाइ थियो। ‘यो बेला उहाँले सर्वोच्च अदालतको फैसला स्वीकार्न तयार छु भन्नुपर्ने हो। तर धम्कीको भाषा बोलिरहनुभएको छ,’ उनले भने ।
अदालतले संसद विघटनको निर्णय सदर वा बदर गरेपनि ओलीको यात्रा बालकोट (ओलीको निजी निवास) हुने बताए । ‘अदालतले विघटन सदर गर्यो भने पनि र बदर गर्यो भने पनि कमरेड बालकोट जाने हो। कार्यकर्ताले स्वागतको तयारी गरे हुन्छ,’ उनले भने ।
भारतीय टेलिभिजनको पत्रकारसँग कुरा गर्दैमा ओली राष्ट्रवादी हुन नसक्ने शर्माले बताए । ‘भारतीय टिभीका पत्रकारसँग खरो कुरा गर्दैमा राष्ट्रवादी भइँदैन। भारतका प्रधानमन्त्रीसँग नक्सा अघि राखेर खरो कुरा गर्नुभएको भए हामी वाहवाही गर्ने थियौं,’ उनले भने, ‘प्रधानमन्त्रीले टिभीको पत्रकारलाई हप्काउनुहुन्छ अनि हामी तालि पड्काउँछौं। अनि हाम्रो शान सगरमाथामा अनुमति नदिई ती पत्रकार कसरी पुग्छन्। नाम फेर्ने अभियान चलाउनुपर्छ भन्छन्, त्यसलाई भुल्न पुग्छौं।’
यस्तै शर्माले जनताको जीवन मरणको प्रसंगमा चिन्ता नगर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको चिन्ता गर्न छोडिदिन आग्रह गरे । उनले कुन देशको सरकार लोकतान्त्रिक जिम्मेवार छ भनेर सरकारलाई चिन्ने बेला भएको बताए ।