खोप नआउन्जेल खतराबाट मुक्त छैनौं : डा. शेरबहादुर पुन

काठमाडौं । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन युरोप र अमेरिकामा जस्तै नेपालमा पनि दोस्रो चरणमा कोरोना महामारीको समस्या नआउला भन्न सकिने अवस्था नरहेको बताउँछन् । यसबाट बच्न जनस्वास्थ्यको मापदण्डको पालना नै प्रमुख शर्त रहेको उनको भनाइ छ । र, उनले भनेका छन्, ‘खोप नआउन्जेल ढुक्क हुन सकिन्न ।’

डा‍. पुनले कोरोना खोप रोजेर लगाउन पाउने कि नपाउने भन्ने कुराको पनि ख्याल राख्नुपर्ने बताएका छन् । संघीय संसद सचिवालयले बुधबार सिंहदरबारमा आयोजना गरेको एक कार्यक्रममा डा. पुनले भने, ‘एक जनालाई अक्सफोर्डको भ्याक्सिन लगाउन मन लाग्यो, अर्कोलाई अमेरिकाको लगाउन मन लाग्ला, अर्कोलाई चाइनिज लगाउन मन लाग्ला । त्यो खालको च्वाइस पाउने कि नपाउने ?’

रि–इनफेक्सन हुन सक्ने सम्भावनालाई समेत ख्याल गरेर जनस्वास्थ्यको मापदण्डलाई निरन्तर पालना गर्नुको विकल्प नरहेको डा. पुनको सुझाव छ । खोप नआउन्जेलसम्म कोरानाको खतराबाट मुक्त छौं भन्ने भ्रममा पर्न नहुने पनि उनको भनाइ छ ।

प्रस्तुत छ कार्यक्रममा डा. पुनलाई सोधिएका प्रश्न र उनले दिएको जवाफको सम्पादित अंश :

कोरोना निको भइसकेपछि साइड इफेक्ट रहन्छ ?

जब लक्षण देखियो भनियो त्यसपछि बिरामी भर्ना भएर जो आउनु भएको थियो थियो, उहाँहरुले कोभिड निको भइसकेपछि पनि साइड इफेक्टको समस्याहरु बताउन सुरु गर्नुभयो । अचम्म के लाग्यो भने– एक जना बहिनी, जो डिस्चार्ज गर्दा एकदम राम्रो थियो, तर ‘चामल केलाउँदा एकदम स्याँ–स्याँ हुन्छ, सक्दिनँ । जबकि चामल केलाउनु भनेको त्यति ठूलो परिश्रम हो जस्तो लाग्दैन,’ भन्दै आउनुभयो । मैले अचम्म मानेँ, छातीमा समस्या भएको भनेपछि एक्सरे नै गरियो । लगभग सबै कुराहरु ठीक थियो ।

पछि फेरि एक जना डाक्टरसाब हुनुहुन्थ्यो । ‘एउटा भर्याङ चढ्नेवित्तिकै स्याँ–स्याँ हुन्छ । झर्नै सक्दिनँ के भयो ? भनेर फोनमा भन्नुभयो ।

त्यसपछि अर्कोले भन्यो– मेरो जीउ त रन्किन्छ, टेष्ट गर्यो ज्वरो देखिँदैन ।

अरु बहिनीहरु पनि आउनुभयो, मान्छेलाई डबल देखेँ भन्नुहुन्छ । भित्तो नै छोएको जस्तो देखियो मान्छेलाई भन्नुहुन्छ ।

यो विषयमा वैज्ञानिकले अनुसन्धान गरिरहेको लेख पढेको थिएँ । तर, मेरै अगाडि आएर बोल्दा त तीनछक परेँ । ओ हो ! रहेछ त यस्तो नेपालमा भन्ने भयो ।

यो समस्या छ । यो विषयमा अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरु, अमेरिकनहरुले पनि लेख लेख्या छन् । यसको समाधानचाहिँ दिएका छैनन् ।

तथापि, जर्मनीको अनुसन्धानले मुटुको समस्या भए त्यसमा देखिन सक्छ भनेको छ । तर, यसलाई कसरी समाधान गर्ने भन्ने त्यस्तो केही छैन ।

वैज्ञानिकहरुले उपाय के हो भनेर लेख्या छन्– एउटा होलेस्टिक मेथड भन्ने छ । आफूलाई काम गरेर व्यस्त बनाउने, धेरै नसोच्ने । यसकारणले मैले कहिलेकाहीँ योगा गर्नुपर्छ भन्ने गरेको छु । आफूलाई सास फेर्न गाह्रो भयो, छाती दुखेको महसुस भयो भने परीक्षण गर्ने र सबै कुरा ठीक छ भने त्यो (कोरोनाको)बारेमा धेरै नसोच्ने । धेरै मान्छेहरु धेरै सोचेर पनि आत्तिरहेको देखिन्छ ।

परीक्षण तीन महिनापछि गर्ने भन्ने पनि छ । सुरु सुरुमा इटालीहरुमा ‘कामै गर्न सकिएन, कस्तो अप्ठ्यारो भयो’ भनेर आउँदा डाक्टरहरुले नपत्याउने भन्थे रे । यो रोग नै एकदम नयाँ भएको कारणले होला सायद । के गर्ने भन्दा के गर्ने ? के गर्ने ? किनभने डिस्चार्ज गरेको केही समय भएको छ, डिस्चार्ज गर्दा सबै ठीक थियो, पछि के भयो ? भनेर ।

मैले आफूले पनि यसलाई नजिकबाट नियाल्ने कोसिस गरेको छु, किनभने पोष्ट कोभिडमा समस्याहरु देखिँदो रहेछ भन्ने कुरा नेपालीमा आफैँले प्रत्यक्ष देखेँ ।

२ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । केही समूह त्यस्तो आउनेवाला छ । उनीहरुको लागि के सोच्ने त ? यसबारेमा हामीले कसैलाई भन्न सक्ने हो कि ! केही सोच्ने हो कि ! किनभने पोष्ट कोभिडको समस्या पछि विस्तारै देखिँदै जान सक्छ । समस्या आउनुभन्दा अगाडि नै के गर्न सकिन्छ भनेर कुनै निर्देशिकाहरु बनाउन सकिन्छ कि । यसो गर्न सकियो भने त्यसले धेरै हदसम्म सहयोग गर्छ ।

गाउँ–गाउँका मान्छेहरुले विशेषज्ञहरुलाई भेट्ने सम्भावना पनि नरहला । त्यो अवस्थामा हामीले कुनै उपायहरु अपनाउनुपर्छ कि भन्ने लाग्छ । यसको लागि म स्वयम् पनि नियालिरहेको छु ।

जस्तो, एउटा भाइरस छ– चिकनगुनिया । यो लामखुट्टेबाट सर्छ । यो भाइरस लागेको मान्छेलाई एक वर्षपछि पनि जोर्नीहरु यति दुख्दो रहेछ कि उसले सारा संसार दबाई लिइसकेको हुन्छ । युरिक एसिड होला वा अरु कुनै जोर्नीको दुखाइ होला भनेर पेनकिलर धेरैले खाँदा रहेछन् । तर, संक्रमण गरिसकेको भाइरसको इम्प्याक्ट हुँदो रहेछ ।

तर, यस (कोरोना) भाइसको इम्प्याक्ट कति जान्छ भन्ने वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् । हामीले पनि यस्तो अनुसन्धान गर्न सक्छौं । नौलो कुराहरु प्रतिवाद गर्ने हो भने यो चान्स पनि हो । मेहनत गर्ने हो भने किन नसक्ने ? मैले लेखहरु लेख्दा अंग्रेजीमा पनि लेख्छु किनभने हाम्रो अनुभव विदेशीले पनि जानुन् । नेपालमा बसेकाहरुको ज्ञान विदेशीहरुले पनि प्रयोग गरुन् ।

कोरोना निको भइसकेपछि अहिले गर्ने लक्षणको आधारमा ट्रिटमेन्ट भनेको मलाई दुख्यो भने दुख्यो दुखाइ कम गर्ने औषधि खाने हो । साइड इफेक्टको बारेमा के गर्ने भन्ने कहीँ पनि केही आएको छैन । पोष्ट कोभिडको इफेक्टहरु किन हुन्छ ? भन्ने बारेमा पनि बल्ल विस्तारै जानकारीमा आउन थालेको छ । यो समस्या इटाली लगायतका देशहरुमा अलिकति अगाडि भयो । उनीहरु अनुसन्धान गर्दैछन् । हामी अलिकति पछाडि छौं, त्यसकारण उनीहरुको अनुसन्धान पढ्न पाएका छौं ।

र विदेशी अनुसन्धानमा हामी पनि सहभागी हुन सक्छौं । म गाडीमा हिँड्दा कल्पना गर्छु– यो रोग किन यस्तो भयो ? अमेरिकाको विज्ञले के भन्दा के भयो ? भारतमा के भयो ? हामीले पनि देखाउन पाए हुन्थ्यो भन्ने लाग्छ । म यसरी सोच्छु र विज्ञ र विदेशीहरुसंग पनि कुराकानी गर्ने गर्छु ।

९/१० दिन पछि सर्दैन भन्ने आधार के छ ?

९/१० दिन पछि सर्छ कि सर्दैन ? भन्ने कुरा ‘ल्यानसेट’ भन्ने मेडिकल जर्नलमा अहिलेसम्म भएको अनुसन्धानलाई जोडेर हेरेको छु । त्यहाँ ९ दिनपछि भाइरस सक्रिय भएको पाइएन । त्यो एउटा राम्रै पक्ष हो । सक्रिय नहुनु भनेको ऊबाट त्यो सर्दैन भन्ने हो । खास विज्ञानमै आधारित भएर कुरा गरिएको छ ।

१४ दिनको कुरा पहिला नै डब्लुएचओले भनेको र नेपालले त्यसलाई फलो गरेको हो । कम्तिमा १४ दिन बस्यो भने त्यो व्यक्तिको शरीरमा संक्रमण रहँदैन भन्ने हो ।

अमेरिकाको सिडिसीले त सात दिन र दश दिनमा कोरोना जान सक्छ भनेको छ । उसले अझ घटाएर सात दिनमा चेक गर्दा सिस्टम छैन भने ठीक छ, सिस्टम छ भने दश दिन बसेर जान सक्छ भनेको छ ।

३/४ पटकसम्म पोजेटिभ किन देखिन्छ ?

मार्चतिर हुनुपर्छ, त्यो बेलामा कोरियामा नेगेटिभ भइसकेकोमा धमाधम पोजेटिभ आयो भनेर ठूलो बहस चलेको थियो । त्यसमा बुझ्दै जाँदा भाइरसको जुन ‘पार्टीकल’ हुन्छ त्यसलाई नै टार्गेट गरेर पिसिआरले समात्ने हो ।

मानौं एउटा– सिसिक्यामेरा छ । एउटा मान्छे सुतिरहेको छ भने सिसिक्यामेराले ज्युँदो छ कि मरेको छ भनेर भन्दैन । खाली मान्छे छ मात्रै भन्छ ।

हामीले यसरी बुझौं– यो भाइरसको पार्टीकलहरु पिसिआरले समात्नुपर्ने हुन्छ । त्यो पार्टीकलहरु हाम्रो घाँटीमा कतै रहेछ भने पिकअप गरेर मरोस् कि बाँचोस् तानेको तान्यै गर्छ । भाइरस मृत हो कि सक्रिय भन्ने नदेखाएर पार्टिकल देखाएका कारण जतिपटक गरे पनि पोजेटिभ देख्यादेख्यै गर्छ ।

तीन जना मान्छे थिए, जसले २१ दिन भयो मेरो त पोजेटिभ देखाको देखाइ गर्छ भने । यसकारण पटक–पटक पोजेटिभ देखिनु भनेको भाइरस सक्रिय नभएर पनि पार्टिकल रहेछ भन्ने बुझ्नुपर्छ ।

मास्कको साइड इफेक्ट छ कि छैन ?

हामीले कहिले पनि मास्क लगाएर बसेनौं । १०० वर्ष अगाडि स्पाइनिस फ्लु देखिएको थियो । त्यो भयंकर थियो । झण्डै ५० मिलियन मान्छे मारेको थियो । अहिले पुरानो फोटोमा हेर्यौं भने त्यो बेला लुगासुगाले मुख बन्द गरेको देखिन्छ ।

अहिले यो मास्क हाम्रो लागि अनएक्सपेक्टेड नै हो । हामीले सोच्या थिएनौं । तर, मैले टेकु अस्पतालमा काम गर्दा मास्क लगाउथेँ । मास्क लगाउँदा साथीभाइले पनि हसाउँथे कति मास्क लगाइरा अनुहार देखाऊ न भन्थे । टिभीदेखि बिभिन्न रोगहरु हुन सक्छ, सरुवा रोग न हो मास्क लगाउनुपर्छ भनेर जवाफ दिन्थेँ ।

धुलो धुवाँका कारणले पनि बाटो हिँड्दा मान्छेहरुले मास्क लगाउने गर्दथे । त्यसले केही हदसम्म बानी पारेको थियो ।

मेरै साथीले पनि मास्क लगाउँदा घाँटी चिलाउन थाल्छ भन्छ । त्यो एलर्जी हो । एलर्जीको साथसाथै साइकोलोजी पनि हुन्छ । सबै कुराले गर्दा साइड इफेक्ट भएको भन्ने हुन सक्छ । कतिपयको क्वालिटी नहुन सक्छ त्यसले पनि एलर्जी गराउन सक्छ ।

अक्सिजन पुग्ने कि नपुग्ने भन्ने प्रश्न पनि छ । तर, यसमा धेरै अध्ययन भइसकेको छ । दुईटा त के चार वटा, पाँच वटा मास्क लगाउँदा पनि अक्सिजनको समस्या छैन भन्ने कुरा छ ।

दमका बिरामीहरुले युके, युएसहरुमा मास्क लगाइराख्नुपर्र्दैन भन्ने छ । गाह्रो हुन्छ भन्ने भएको हुनाले होला । तर, उहाँहरु हुलमुलमा जानु भएन भन्ने सुझाव दिएको देखिन्छ ।

नेपालमा मृत्युदर कम किन ?

मैले अफ्रिकाको मृत्युदर हेरेको थिएँ । त्यहाँको पनि कम छ । म साथीभाइसँग जिस्केर भन्थेँ– धुलोमाटोमा खेल्नुपर्छ, त्यसपछि यो समस्या कम हुन्छ ।

कोरोना भाइरसको चार वटा प्रजाति नेपालमा पहिलादेखि नै छ । सार्स र मार्सको बारेमा थाहा थिएन । सार्सको कोरोना भाइरस टु भन्छ । पहिलो २००३ तिर चीनमा देखिएको थियो । सार्सको अरु प्रजातिहरु यदि संक्रमित भइरहेको छ, शरीरमा एण्टीबडी छ भने सायद कोरोना कडा हुँदैन कि भन्ने मैले हाइपोथेसिस राखेको थिएँ ।

तर, जर्मनी र अमेरिकाका वैज्ञानिकले त्यो सानो अध्ययन नै किन नहोस् प्रुफ गरेका छन् । क्रस रियाक्टिभ भन्छ । म अहिले पनि त्यो पूर्ण रुपमा हो त भन्दिनँ तर, सम्भावना कहीँ न कहीँ भयो मृत्युदर कम हुनुमा ।

यस्तै, बिसिजी खोप लगाउनेबारेमा पनि कुरा आएको छ । त्यो अझै अध्ययन हुन बाँकी छ । अष्ट्रेलियन डाक्टरहरु सबैले बिसिजी लगाएका छन् । कहीँ न कहीँ यसले पनि हामीलाई बचाउनमा मद्दत गर्छ कि भनेर ।

तर, यो समयमा ठ्याक्कै यो कारणले भन्नुभन्दा पनि खानेकुरा र बिभिन्न अरु कारणहरुले होला जुन इनडाइरेक्ट्ली छ । बेसारकै कुरा, लसुन जति पनि खाने कुराहरु छ, तिनीहरुबाट शरीरलाई सकारात्मक प्रभावचाहिँ हुन्छ । यो कुरा पोषणविदहरुलाई अझ बढी थाहा होला । यही कारणले होला कि जुन तरिकाले इटालीमा संक्रमण देखिएको थियो त्यो तरिकाको भारतमा, नेपालमा देखिएको छैन । अफ्रिका अर्को एउटा भयो ।

मलाई त अहिले पनि याद आउँछ– बम्बईमा सुकुम्बासी छन् । त्यहाँ ८/१० जनामा संक्रमण हुने वित्तिकै अब भयावह हुन्छ, मान्छे भटाभट मर्छन् भनेर कुरा आएको थियो । खुब फलो गरेँ तर कहिल्यै त्यस्तो आएन, कोही मरेन त्यहाँ । के कारणले हो मलाई थाहा छैन । जहाँ एउटै घरमा ८/१० जना त बच्चाहरु नै नाङ्गानाङ्गै दौडिएका छन्, बस्या छन् । तर, जहाँ सबैभन्दा धेरै सफा छ त्यहाँ मान्छे धेरै मर्या छन् । मरिरहेका छन् ।

यसो भनेर नेपालमा मर्दै मरेको छैन भन्न खोजेको होइन । तर, जुन इटालीमा थियो । त्यो खालको अवस्था छैन, होइन ।

लकडाउन र निषेधाज्ञाले नेपालमा संक्रमण कम भएको हो ?

लकडाउन नराम्रो त होइन तर, युजली धेरै देशहरुले केसहरु एकदम हाई भएपछि यस्तो गरेको देखिन्छ । हामीले अगाडि गर्यौं, त्यसको इम्प्याक्ट छँदैछैन त म भन्न सक्दिनँ । मान्छेको आवतजावतलाई त्यसले रोकेकै हो ।

तर, त्यसको प्रयोग जतिबेला अनियन्त्रित हुन्छ त्यसबेला गरिन्छ । तर कहिलेकाहीँ भन्ने गरेको छु हामीले पहिले गरेको अहिले गर्नुपर्दथ्यो कि र अहिले गरेको चाहिँ पहिले ।

मैले एकपटक लकडाउन होइन जनचेतनालाई बढावा दिने कि पनि भनेको थिएँ ।

लक्षणमा किन भेरियसन देखिन्छ ?

सुरुमा कोरोना संक्रमणका तीन वटा लक्षण भनिएको थियो । ज्वरो आउने, श्वासप्रश्वासमा समस्या र रुघाखोकी । बच्ने उपायमा मासुलाई पनि राम्रोसँग पकाउने भन्ने थियो । धेरैले सामाजिक दुरी, मास्क र स्यानिटाइजरलाई ख्याल गरे, मासु पकाउनेलाई कम ख्याल गरे ।

अहिले नयाँ–नयाँ कुरा पत्ता लाग्दै आइरहेको छ । त्यसकारण पहिला जे भन्यो त्यही भन्ने हुन्थ्यो भने अहिले त्यस्तो छैन । ‘डा.साब मुखबाट पानी आयो भनेर टेष्ट गर्दा कोरोना पोजेटिभ आयो,’ भन्नेहरु पनि छन् । त्यो त रुघामा पनि देखिन्छ । अहिले रुघाखोकीको लक्षण देखियो भने पनि स्वयम् आइसोलेट गइदियो भने धेरै कुरा ढुक्क हुन्छ । परीक्षण गरियो भने झनै राम्रो हुन्छ ।

भन्न खोजेको अहिलेसम्म आइपुग्दा लक्षणहरु धेरै नै छन् । आँखा खस्ला जस्तो भयो भन्नेलाई पनि कोरोना । आँखा खस्ला जस्तो हुने भनेको त डेंगुमा मात्रै सुनिएको थियो । यहाँ पनि रहेछ भन्ने अनुभव भयो ।

सुँघ्ने शक्ति र स्वादको कुरा जुन छ– बिरामीले भन्दैन दुखेको कुरा मात्रै भन्छ । खाइरा हुन्छ, थाहा पनि हुन्छ तर डाक्टरलाई स्वयम् भन्दैन । जब डाक्टरले सोध्छ सुँघ्ने शक्ति कम भएको हो ? स्वाद हराएको हो ? अनि बल्ल हो–हो यो पनि भएको छ भन्छ । किनभने यसले दुःख दिएको हुँदैन । योचाहिँ टिपिकल रहेछ ।

कोरोना संक्रमण भएपछि सामान्य अवस्थामा पनि स्वाद त थाहै हुँदैन । कतिपयले भन्छन् गन्ध त पटक्कै आउँदैन भनेर ।

भाइरसको स्वरुप परिवर्तन भइरहेको छ कि छैन ?

यो कुरा खुब उठाउँछु म पनि । म कतिबेला अचम्ममा परेँ भने– पहिला सबै लक्षणविहीन थिए । पहिलो लकडाउनभन्दा पहिला त ९९.७ प्रतिशत लक्षणविहीन, कोही छैन, यसो हेर्दा एकदम फाइन छ, तर उनीहरुमा क्वारेन्टिन राख्दा परीक्षण गर्दा देखिएको ।

अचानक पहिलो लकडाउनपछि, सायद वीरगञ्जबाट हुनुपर्छ, मैले समाचारमा सुनेअनुसार त्यहाँ लक्षण भएको देखियो रे भनेर सुरु भयो । मलाई त्यो बेलादेखि लाग्यो– सायद भाइरसमा केही परिवर्तन आयो कि जिनमा भन्ने हो । र यो निरन्तर भइरहेको हुन सक्छ ।

अहिले जुन दोस्रो लटको कुरा छ– अमेरिका युरोपको । त्यसमा चाहिँ के लेख्या छ भन्दा– भाइरसको सानोतिनो जीन परिवर्तन भएको देखिन्छ । जसले गर्दा सेकेण्ड टाइममा पनि त्यो लहर आएको देखिन्छ । त्यसले गर्दा आगामी दिनमा लामो समय भयो नेपालमा यो सर्कुलेट भइरहेको ।

न्याचुरल्ली नै आरएनए भाइरस हो त्यो एकदमै जीन परिवर्तन गरिरहन्छ । यदि यस्तो भइरह्यो भने हामीले जनस्वास्थ्यको मापदण्ड संक्रमित भइसकेपछि बेवास्था गर्न थाल्यो भने भोलि फेरि अर्को समस्या नआउला भन्न सकिन्न । त्यसले आगामी भ्याक्सिन नलगाएसम्म सकेसम्म हामीले निरन्तरता दिउँ भनेर भन्ने गरेको हो । केस रिपोर्टहरु पनि त्यही आएको छ ।

र इन्फेक्सन कसरी भयो भनेर छुट्याउने तरिका भनेको, एउटा लामो समयसम्म पोजेटिभ रहनु भन्ने भयो । लामो समयसम्म त्यही रहनु भनेको जीन त्यही हुनुपर्छ । तर, सकेण्ट टाइम कसैलाई २/३ महिनापछि रुघाखोकी लाग्यो भनेर कसैले परीक्षण गर्दा त्यसको जीन परिवर्तन भयो भने त्यो सकेण्ड टाइम भनेर छुट्याउने गरेका छौं । यसरी हामीले सेकेण्ड टाइम कसरी गर्ने ? रि-इन्फेक्सन हो कि होइन भनेर छुट्याउने भन्ने कुराहरु छ ।

सिटी भ्यालुको अर्थ के ?

सिटी भ्यालुले एकदम ओभरअल ज्ञान दिन्छ । त्यो दुई जोड दुई चार हुँदैन कहिले पनि ।

सिटी भ्यालुको अंक कम हुनु भनेको भाइरल बढी हुनु भनेको बुझिन्छ । सिटी भ्यालुको अंक बढी जस्तो ३०/३५ रह्यो भने भाइरल कम छ भनेर बुझ्ने हो । तर, यो सबैमा लागू हुन्छ भन्ने छैन ।

उदाहरणको लागि सिटी भ्यालु १०/१२ भएको पनि राम्रै भएर गएका छन् । सिटी भ्यालु २५/३० भएका व्यक्तिहरु पनि भर्ना भएका छन् ।

उदाहरण दिउँ– कुनै कोठामा तीन जना चोरहरु लुट्न आए । म एकदम बलियो छु भने त्यो चोर भाग्छ । मलाई लुट्न सक्दैन । तर, धेरै जना छौं र हामीसँग कुनै हतियार छैन, त्यस्तो बेला एउटा पेस्तोल लिएर एक जना गुण्डा आयो भने पनि हामी सबैलाई लुट्न सक्छ । भन्न खोजेको भाइरस धेरै हुँदैमा त्यसले हानी नै गर्छ भन्ने छैन ।

ट्रिटमेण्ट गर्दै जाँदा देख्छौं– पहिला सिटी भ्यालु १४/१५ देखेको, त्यसको एक दुई हप्तामा २५/३० देखेको । त्यसको अर्को केही दिनमा ३०/३५ देखेको र निको भएको । यो धेरैमा देख्छौं । यसलाई आधार मान्दा जति उपचार हुँदै जान्छ त्यति सिटी भ्यालु माथि जाँदो रहेछ भन्ने हुन्छ ।

तर, पहिला कसैलाई सिटी भ्यालु ३२ थियो र पछि २५ पो पुगेछ भन्नेहरु पनि छन् । यो भनेको, कहिलेकाहीँ सुरुवाती समयमा परीक्षण गर्दा भाइरल कम हुन सक्छ त्यही कारणले गर्दा ३०/३२ हुन सक्छ । भर्खरै देखिएका कारण त्यो त बढ्दै–बढ्दै जान्छ । १४ दिन सम्म कुर्छौं, त्यो अवस्थामा माथि पुगेर तल झरेको होला भन्ने मेरो विश्लेषण हो, कुनै प्रमाणित गरेको होइन ।

तर, सिटी भ्यालु ३० रहेछ मर्निङ वाक जाऔं है भनेर नभन्नुहोला । यस्तो गरेको थाहा पाएको छु मैले । पहिलो चोटी परीक्षण गर्दा १४ दिन नै बस्नुस् ।

स्यानिटाइजर ठीक कि साबुनपानी ?

मलाईचाहिँ साबुनपानी अझ राम्रो भन्ने लाग्छ । कतिपयलाई स्यानिटाइजर नफापेको, कतिपय नक्कली परेको भन्ने छ । छालालाई समस्या आएको भन्ने कुरा छ । सबैलाई सुट हुन्छ भन्ने पनि छैन ।

स्यानिटाइजर जुन प्रयोग गर्छाैं त्यो पनि इफेक्टेडेड नै छ भन्ने कुराहरु छ । त्यसकारण साबुनपानी सबैलाई सुट हो ।

र यसको प्रयोग कुनै चिज छुनुभन्दा अगाडि नभएर पछाडि गर्दा राम्रो होला । मैले छुनुभन्दा अगाडि कसैले छोएको होला भनेर सोच्ने हो भने अगाडि स्यानिटाइज गर्दा पनि भयो । तर, कामहरु गरिसकेपछि साबुनपानीले हात धुनु राम्रो हुन्छ ।

पुनः संक्रमण हुन्छ कि हुँदैन ?

लगभग दुई–तीन महिनापछि रि–इनफेक्सन हुन सक्छ भन्ने आँकडा छ । किनभने एन्टीबडी सामान्यता दुई–तीन महिनापछि हराउँछ भन्ने छ । त्यही कारणले गर्दा नै फेरि हुन सक्छ भन्ने छ । रि–इन्फेक्सन भएका केसहरु पनि छन् ।

‘सस्सेक्टिभ’ केशहरु यहाँ त हामीले खास गरेका छैनौं, विदेशतिर हेर्यौं भने तीन सय, पाँच सय ल्याटिन अमेरिकामा भयो भन्ने कुराहरु छ । तर, प्रमाणित गर्न एकदम गाह्रो छ । यसमा परिभाषामा एकरुपता छैन ।

पहिला इन्फेसक्न थियो, पछि फेरि भयो र जीन एउटै रहेछ भने त्यो रि–इन्फेकसन भन्न सक्दैनौं । जीन फरक भयो भने रिइन्फेक्सन भन्ने गरिएको छ अहिलेसम्म । यसको बारेमा युरोप, अमेरिका, चाइनिजहरुले एक परिभाषा बनाउलान् जसबाट सहज हुन्छ ।

नेपालका कतिपय डाक्टरहरुले र भारतकाले पनि कुराकानी गरेका छन् । तर, त्यसलाई वैज्ञानिक रुपमा पुष्टि गर्न च्यालेन्ज देख्छु ।

रि–इन्फेक्सन सम्भव छ । तर, अहिलेसम्म जति पनि संक्रमित भए, दुई लाख धेरै मुक्त भइसके । उहाँहरु धेरैजसो घरी–घरी फर्किएको थाहा पाएको छैन ।

यधपि, आधा दर्जन मसँग नै सम्पर्कमा थिए । उनीहरुले कुराकानी गर्दा तीन–चार महिना अगाडि निको भएको तर, गाह्रो भएर परीक्षण गर्दा फेरि पोजेटिभ आएको भन्ने छन् । टेक्निकल्ली यस्तो भए पनि प्रमाणित गर्न च्यालेन्ज छ ।

यसकारणले गर्दा हामी आगामी दिनहरुमा पनि संक्रमण मुक्त भयौं भनेर ढुक्कसँग हिँड्नुभन्दा विशेष सतर्कता अपनाऔं । खोपलाई नै विकल्पको रुपमा लिएका छौं । खोप लगाएपछि चाहिँ पहिलाको भन्दा धेरै नै रिल्याक्स होला ।

खोपका पनि धेरै प्रश्नहरु छन् । हामी त्यतातिर नजाऔं, राम्रै सोचौं । खोप लगाउन पाएपछि हाम्रो शरीरले प्रयाप्त मात्रामा रोग प्रतिरोधात्मक क्षमता निकाल्छ भन्ने कुरा अहिलेसम्म छ । आशा गरौं– सकेसम्म छिटो खोप आओस् ।

खोप निजी क्षेत्रबाट ल्याउँदा समस्या हुन्छ कि भन्ने पनि छ । त्यसकारण यसबारेमा छुट्टै सोच्न पाए पनि हुन्थ्यो ।

उदाहरणका लागि एक जनालाई अक्सफोर्डको भ्याक्सिन लगाउन मन लाग्यो, अर्कोलाई अमेरिकाको लगाउन मन लाग्ला, अर्कोलाई चाइनिज लगाउन मन लाग्ला । त्यो खालको च्वाइस पाउने कि नपाउने ? भन्ने छ ।

यसमा कसरी छिटो छरितो सर्बसुलभ र राम्रो भ्याक्सिन च्वाइस गर्न पाउँछ कि पाउँदैन भन्ने कुरालाई राख्न सक्दा धेरै राम्रो हुन्छ । म आशावादी छु छिट्टै आउला । अनलाईनखवर बाट 

तपाईको प्रतिक्रिया

RELATED POSTS