काठमाडौं। काम र पैसाको लोभ देखाएर कम उमेरका युवती र किशोरीहरुको यौनशोषण गरेको अभियोगमा एक अर्बपति पक्राउ परेका छन् । क्यानडाका ७९ वर्षका फेशन डिजाइनर पिटर निगार्डमाथि विगत कैयौं वर्षदेखि किशोरी र युवतीहरुलाई फेशन उद्योगमा प्रवेशको प्रलोभन दिएर उनीहरुको यौनशोषण र बलात्कार गरिरहेको आरोप लागेको छ । यसका अलावा उनीमाथि यौनजन्य कार्यका लागि युवतीको तस्करीको पनि आरोप छ । उनले यी युवतीहरु आफ्ना साथीहरु र व्यवसायिक साझेदारहरुका लागि पनि पठाउने गरेको आरोप लागेको छ ।

बीबीसीका अनुसार यो मुद्दामा अभियोजनकर्ताले पिटरमाथि निगार्ड ग्रुपको प्रभाव र संसाधनको प्रयोग गरेर कैयौं महिला र किशोरीहरुलाई शिकार बनाएको आरोप लगाएका छन् । ती महिला र किशोरीहरुलाई नगद, मोडलिङ र शानदार जीवनको सपना देखाइन्थ्यो र उनीहरुको यौनशोषण गरिन्थ्यो । यीमध्ये धेरैजसो ती युवतीहरु हुन्थे जो आर्थिक रुपले धेरै सम्पन्न थिएनन् । पिटरले लस एन्जल्स र बहामासमा यस्ता पार्टीहरु गर्थे जहाँ कैयौं किसिमका खास सुविधाहरु हुन्थे । त्यहाँ स्पा सेवा, ड्रिंक र खानाको विशेष व्यवस्था हुन्थ्यो ।पार्टीपछि ती युवतीहरुको जबरजस्ती यौनशोषण गरिन्थ्यो । पिटरले आफ्ना साथी र साझेदारका लागि पनि यी युवतीहरु पठाउँथे ।

पिटरले आफ्नो कम्पनी ५० वर्ष पहिले क्यानडाबाट सुरु गरेका थिए । यो कम्पनकिो नाम निगार्ड इन्टरनेशनल थियो । यो कम्पनीले सुरुवातमा खेल सामग्री उत्पादन गर्थ्यो । कम्पनीको वेबसाइटका अनुसार अहिलेसम्म उत्तर अमेरिकामा कम्पनीका १७० स्टोर खुलिसकेका छन् । गएको फेब्रुअरीमा प्रशासनले पिटरको लस एन्जल्समा रहेको घर र न्यूयोर्कस्थित कर्पोरेट हेडक्वाटरमा छापा मारेको थियो । त्यसपछि पिटरले आफ्नो यो कम्पनीबाट राजीनामा दिएका थिए ।

त्यसपछि करिब १० महिलाहरुले उनीविरुद्ध मुद्दा दायर गरेका थिए । उनीहरुले पिटरमाथि नगद र मोडलिङको प्रलोभन देखाएर कैयौं युवती र किशोरीहरुलाई बलात्कार गरेको आरोप लगाएका थिए । यो उजुरीपछि एफबीआइले पिटरको टाइम्स स्क्वायर कार्यालयको पनि जाँच गरेको थियो । रिपोर्टका अनुसार पिटरले भने आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेका छन् । पिटरलाई मंगलबार अदालतमा उपस्थित गराइएको थियो । अदालतले उनलाई पुनः हिरासतमै पठाएको छ । अब अर्को सुनुवाइ जनवरी १३ मा हुनेछ । यसबीचमा पिटरले जमानतको लागि आवेदन भने गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS